उसले मेरो मन बुझेको थियो, मेरो पीडा देखेको थियो । त्यै भएर मेरो खुशीको साथसाथै मेरो बा को पनि खुशी देख्न चाह्यो । यो देखेर उ प्रति माया झन् बढेर आयो । केही नसोचि अँगालो हालें। मेरो अँगालोको स्पर्समा उसले म भित्रको मायाको कमि महसुस गरेको थियो । हरेक पलमा साथदिने उ मात्र मेरो
सहयात्री थियो तर समाजले हाम्रो सम्बन्ध कहिल्यै स्विकार गर्न सक्ने थिएन । तरपनि मैले सबै भुलेर जोरले अँगालेको थिएँ । धेरै बेरसम्म अँगालेर भोको उसको मायाको प्यासलाई भर्दै थिएँ । म कृष्णको माया बन्न चाहन्थे तर यो कसरी सम्भव छ त ? मसँग जवाफ थिएन । उसलेपनि जोरले अँगालेको थियो । खाना पकाउन छोडेर उसको अँगालोमा हराएकी थिएँ । अकास्मत त्यो दृश्य बा ले देखेर "माया" भन्दै नजिक आए
बा ले देख्नुभयो मैले अँगालेको कृष्णलाई । सबैले देख्दा त्यो दृश्यलाई नराम्रै नजरले हेर्थे होला। बा ले मुर्मुरींदै भन्नुभयो, "के गरेकी छोरी यस्तो, हलीसँग टाँसिएर, गाउँलेले देखे भने कुरा काट्छन् । जमिन्दारले थाहा पाएभने मार्छन् किन यस्तो गरेकी ? हे भगवान के दशा आईलाग्यो । बा टाउकोमा हात राखेर खुईय गर्दै बसे । अनि फेरि मनमा के सोच आयो कुन्नि रिसाएर कृष्णलाई भकुर्नलाई आउनुभयो । मैले सकि नसकि बा लाई छुटाउन खोजे तर सकिन । फेरि छुटाउन खोज्दा यो पटक बा को हातको झट्काले म भुइँमा लड्न पुगें। "आमा मरेनी" भन्दै चिच्याएँ । कृष्ण र बा दुबैजना आएर उठाए मलाई । म कसरी देख्न सक्छु कृष्ण माथि अन्याय भएको त्यै भएर सबै कुरा भन्ने निर्णय गरे ।
कृष्ण ले मानेको थिएन तर पनि मैले बा लाई भने, "बा कृष्ण को कुनै गल्ति छैन । म उसलाई माया गर्छु । तपाईंले त बिहे गरेर पठाईदिनुभयो तर मेरो जिन्दगीको नरकजस्तो पीडा त्यहि दिन देखि सुरू भयो ।"
बा ले भने, "के भन्दैछौ छोरी ? किन र जमिन्दार साहेबले माया गर्नुहुन्न र जसको कारण तिमी यो हलिसँग माया गर्दैछौ ?"
मैले बा लाई भने, "बा कृष्ण कोहि हलि हैन उ जमिन्दारको जेठी श्रीमतीको एक्लो छोरा हो ।" तपाईंको जमिन्दारले बिस्तारामा मात्र माया गर्नुहुन्छ बा, त्यो घरमा बुहारी हैन नोकरानी चाहिएको रै'छ ।"
तपाईंकी छोरी यतिका महिनासम्म पिडामा बाँचेकी थि । कृष्ण ले साहस दिएरमात्र हो बाँचेकी छु । नत्र त्यो पीडा सहन सक्ने क्षमता म सँग थिएन । हरदिन गाली र पिटाई खान्छु बा, म आमा बन्नेवाली थिएँ। तर छोरी जन्माई भनेर मेरो सन्तानलाई मारिदिए बा मारिदिए ।"
यति भनेर म चिच्याउँदै रोएँ। बा टाउकाको फाटेको टोपी निकालेर आँशु पुछ्दै थिए । फुल जस्तै नाजुक तरिकाले पालिएकी म आज काँडाबिच मुस्कुराएको देखेर होला बा को आँशुमा पश्चाताप बग्दै थियो । सबैको आँखामा आँशु थियो । बिवाहपछि हरेक छोरीलाई धनी ज्वाइँ खोजेर दिँदा छोरी खुशी हुन्छ भन्ने कुरा सोच्नु बा र आमाको गल्ति हो । ठूलो महल र धनले मनको खुशी नदिँदो रहेछ ।
मनमा शान्ती छैन भने त्यो ईज्जत र धनपनि केही जस्तो नलाग्ने रै'छ । बिहे गरेको लोग्नेले नै वास्ता नगरेपछि
मायाको भोको भइँदो रहेछ । बा र आमालाई त छोरीलाई धनी परिवारमा दिएसी छोरी खुशी हुन्छन् जस्तो लाग्छ तर कहिल्यै सोध्दैनन् कि छोरी कतिको खुशी छे पराईघरमा भनेर । मेरा बा र आमा गलत थिए ।
हुन त निर्णय मेरो थियो तर त्यो परिस्थिति नै त्यस्तै थियो, कि मेरो निर्णयलाई कसैले रोक्न सकेनन् । म भन्न चाहन्न थिएँ पराईघरको कुरा, कुन नारीले चाहन्छ होला र पराईघरमा मलाई पीडा भयो भन्दै... किनकि बा आमाले खोजिदिएको गलत हुन्न है भनेर सहि बनाउनलाई भएपनि कति नारीहरू आजपनि मनभरि पीडा बोकेर माईत जाँदा फिक्का हाँसो बोकेर जाने गर्छन् । म बिबश थिएँ । नचाहँदा नचाहँदै भन्न बाध्य भएँ नत्र बा ले कृष्ण लाई जे पनि गर्न सक्थे ।
बा को आँशु पुछ्दै भने, "निरास नहुनुस् बा, कर्ममा जे लेखेको छ त्यो हामी नारीले भोग्नै पर्छ । मेरो भाग्यमा नै माया छैन भने जति रोएपनि नहुने रहेछ । तपाईंकी माया हिम्मतवाली छे बा, चिन्ता नलिनु एकदिन परिवर्तन गर्नेछे यो पुराना रितिरिवाज र अन्धबिश्वास ।"
बा चुप थिए । सायद पहिलो चोटि हार खाँदै थिए । उहीँ पुरानो शैलीमा ढुङ्ग्राले आगो फुक्दै खाना बसालें । सबैजना मिलेर ढिडौँ खायौँ। रातभर निद्रा लागेन । आमाको याद आएर आँशु खसिरह्यो । बा लाई नभन्नुपर्ने कुरा भनेको कारण के सोचे होला बा ले भनेर मन पनि दुख्यो त्यसैपनि आमा बितेको कारण कति हिम्मत गरेर बाँचेका थिए । झन् मेरो कुराले कति मन दुखाए होला । यहि सोचेर निदाउन सकिन ।
बा लाई कोठामा हेर्न गएँ । टुकि बलिरहेको थियो, बा निदाईरहेका थिए । जिवनभर परिवारको लागि सँघर्ष गर्ने पुरुषको जिन्दगी कठै ।
बाकि कथा अर्को भागमा 🙏

Comments