काठमाडौं : पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार हेलिकोप्टरका पूरै भाग जलेर ध्वस्त भएको छ । हेलिकोप्टरका सबै भाग जलेर ध्वस्त भएको तर इन्धन भण्डार गर्ने भागमात्र बाँकी रहेको हेली साेसाइटी अफ नेपालका एक प्रतिनिधिले पुष्टि गरेका हुन् ।
भर्खरै घटनास्थल पुगेको प्रहरीले पनि चिन्नै नसक्ने अवस्थामा शवहरु भेटाएको नेपाल प्रहरीको उच्च स्रोतले जनाएको छ । प्रहरी हबल्दारको नेतृत्वमा एउटा टोली भर्खरै घटनास्थल पुगेको छ ।
ताप्लेजुङमा दुर्घटनाग्रस्त हेलिकाेप्टरमा सवार ७ जनाकाे शव फेला परेकाे हाे । फुङलिङ नगरपालिका-१०, काफ्लेपाटीमा भएकाे दुर्घटनास्थलमा ७ जनाकाे शव फेला परेकाे हेली साेसाइटीका एक प्रतिनिधिले पुष्टि गरेका हुन् ।
फुङलिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराई ‘तारा’ ले पनि ७ जनाकै शव फेला परेकाे पुष्टि गरे । उनका अनुसार दुर्घटनास्थल फुङलिङ नगरपालिका र भक्तालुङ गाउँपािलकाकाे सीमा क्षेत्रमा पर्छ। उनले भने, ‘साे क्षेत्र प्रशिद्ध तिर्थस्थल पाथीभराकाे नजिक रहेकाे छ।’
‘दुर्घटना भएकाे जानकारी मिल्नासाथ हामी साे स्थानतर्फ जाँदैछाैं’, उपप्रमुख भट्टराईले भने, ‘दुर्घटना स्थलमा पुगेका स्थानीयले ७ जनाकाे शव भेटिएकाे पुष्टि गरेका छन्।’
अहिले घटनास्थलतर्फ जिल्लास्थित सरकारी अधिकारी तथा प्रहरीसहितकाे उद्दार टाेली पुग्दै गरेकाे उनले बताए । ताप्लेजुङमा एयर डाइनेस्टीकाे हेलिकाेप्टर दुर्घटनाकाे विमानस्थल कार्यालयलेसमेत पुष्टि गरेकाे छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना सवार हेलिकाेप्टरमा सवार थिए । मन्त्रीसहित हेलिकोप्टरमा पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन गुरुङ लगायत थिए ।
हेलिकोप्टर प्रभाकर केसीले उडाएका थिए । कलसाइन एएमआई (अल्फा माइक इन्डिया) उक्त हेलिकोप्टर काठमाडौंबाट आज बिहान साढे ८ बजे उडेको थियो । मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहान डाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न गएको थियो ।
No comments:
Post a Comment